स्याङ्जामा एकै रात १३ घरमा चोरी
स्याङ्जा | माघ १८, २०७९
स्याङ्जा: देशकै पहिलो होमस्टे आँधीखोला गाउँपालिका–१, सिरुबारीमा एकै रात १३ ठाउँमा चोरी भएको छ। वडा कार्यालयसहित एक बौद्ध गुम्बा, एक सहकारी र आठवटा निजी घरमा चोरी भएको हो।
राजास्वारादेखि सिरुबारीसम्मको दुई किमि दूरीभित्र चोरी भएको प्रहरी निरीक्षक पदमराज थापाले बताउनुभयो। चोरी गर्नेले मुख्य गरेर सुन र नगदमा ध्यान दिएको देखिएको छ। बौद्ध गुम्बाको दान पेटिका लग्दा भित्र रहेका वर्षौंदेखिका पुराना बुद्धका मूर्तिमा भने केही नगरेको थापाले बताउनुभयो।
चोरी गर्नेले तीन लाख ३६ हजार रुपियाँ नगदसहित, साढे १० तोल सुन चोरी गरेका छन्। सबैभन्दा धेरै सम्पत्ति पूर्णबहादुर गुरुङको घरबाट चोरी भएको छ।
गुरुङ परिवार पोखरा गएको मौका छोपी मङ्गलसूत्र, चन्द्रमा, नौगेडी, चुरा, बेरुवा औँठी गरी साढे १० तोला सुन र नगद दुई लाख पाँच हजार लगेको थापाले बताउनुभयो। यस्तै वडा कार्यालयबाट ३० हजार रुपियाँ, पूर्णबहादुर बगालेकोबाट सीसीटीभी, मोनिटर र सीपीयू लगेका छन्।
चोरले गङ्गाधर ढकालको किराना पसलबाट सात हजार, मेखबहादुर दर्जीको पसलबाट २० हजार नगद, लक्ष्मी शर्माको फेन्सी पसलबाट सात हजार नगद, कृष्णप्रसाद पौडेलको पसलबाट सात हजार, मित्रलाल अधिकारी र दिगो बहुउद्देश्यीय सहकारीबाट एक/एक हजार नगद, ख्यामबहादुर दर्जीको घरबाट दुई केजी सुकुटी चोरी गरेका छन्।
मान्छे नभएका घर र पसलबाट चोरी भएकाको कारण चोरी गर्ने नजिकैका वा चिने जानेकै मान्छे हुन सक्ने सक्ने वडा अध्यक्ष पवनकाजी अधिकारीले अनुमान गर्नुभयो। उहाँले आफ्नो वडा कार्यालयबाट देखिएको राजस्वको खाममा रहेको ८८ हजार नलगेको र अफिसका ल्यापटप, कम्प्युटर केही नगरेको बताउनुभयो।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

